काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्ष बनका चन्द्र प्रसाद ढकालले पदबहाली गरेका छन्। पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।
अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुग्दा आफूलाई गर्व लागेको भन्दै उनले यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको बताए।
अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भन्दै सचिवालयबाट सोही अनुसारको सहयोगको अपेक्षा आफुले गरेको उनले बताए।
निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यकासाथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुँदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गरे।
कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनकारूपमा संचालन गर्न उनले निर्देशन दिए।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि धन्यवाद दिएका थिए।


