काठमाडौँ- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गरेका तर फिर्ता नपाएका बचतकर्ताले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन्।
आफूहरुले बचत गरेको रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै पीडितले उजुरी दिएका हुन्।
समितिका सभापति रामहरि खतिवडालाई भेटेर बिहीबार बचतकर्ताहरूले रकम फिर्ताका लागि पहल गरिदिन माग गरे। १८ हजार ७ सय जना बचतकर्ताको करिब एक अर्ब ३५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई पक्राउ पर्न नसकेको भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा लगानी भएको देखिएको छ। यसमा हालका गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्। तर उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको आरोप लागेकाले उनले राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने आवाज कांग्रेसले सदनमा उठाउँदै आएको छ। कांग्रेसले रविमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि निर्दोष रहेको कुरा सदनबाट नै बताइसकेका छन्।


