काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आम्दानीको बलियो स्रोत ऊर्जा तथा जलविद्यतु भएको बताएका छन्। ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गर्दै यस्तो उल्लेख गरेका हुन्।
‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो,’ उनले भने, ‘जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’
ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको उनको भनाइ थियो। ‘नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु। लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ। सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ,’ उनले भने, ‘लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ। नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो।’
विद्युतीय खपतमा पनि बढाउन जरुरी रहेको मन्त्री डा महतले बताएका थिए।


