काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्।
बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकिलको कार्यालयमा बयान दिएका चौधरी दिउँसो स्थानीय समयअनुसार ४:४४ बजे कोलोम्बो विमानस्थलमा अवतरण गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ बजे श्रीलंकन एयरलाइन्समार्फत श्रीलंकाका लागि प्रस्थान गरेका थिए।
चौधरीसँग सरकारी वकिल कार्यालय काठमाडौँमा सीआईबीले बयान लिएको थियो।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप छ। यो प्रकरणमा चौधरीले इन्कारी बयान दिएका छन्।
बाँसबारी जग्गा प्रकरणमा १८ माघमा सीआईबीले विनोदका भाइ, सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो।
उनीहरू अदालतको आदेशपछि २४ माघमा रिहा भएका थिए।


