हेटौँडा- हाम्रो नेपाली पार्टी (हानेपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको इशारामा आफ्ना सांसदलाई अपहरण गरी मन्त्री बनाएको आरोप लगाएको छ।
पार्टीका हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले हेटौँडामा पत्रकार सम्मेलन गरी आफ्नो दलका सांसद शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएको आरोप लगाएका हुन्।
ओली र प्रचण्डले युवालाई विकृत राजनीतिक संस्कार सिकाएको आरोप पनि हानेपाले लगाएको छ।
पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध मन्त्री पदमा सपथ लिएका आफ्नो दलका सांसद बज्राचार्यलाई कारबाही गर्नेसमेत निर्णय भएको अध्यक्ष घिमिरेले जानकारी दिए।
चैत्र ३ र ४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले एमाले र माओवादीसहितको वर्तमान संघीय सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयलाई लत्याउँदै बज्राचार्य मन्त्री बनी शपथ लिएकाले उनीमाथि कारबाही गरिने अध्यक्ष घिमिरेको भनाइ छ।
यसरी प्रदेशको सांसदलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएकोसमेत अध्यक्ष घिमिरेको भनाइ छ।
चैत्र १५ मा हानेपा सांसद बज्राचार्य मन्त्रीमा नयुक्त भई शपथ लिएका थिए। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
हानेपाले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन ९ चैतमा फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य साेही सरकारकाे मन्त्री बनेपछि हानेपा अध्यक्ष घिमिरे आक्रोशित बनेका हुन्।
यसअघि हानेपाले ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी गरेको थियो।
उता जम्कट्टेलले चैत २२ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दबाबका बीच जम्कट्टेलले बज्राचार्यलाई मन्त्री बनाएका हुन्।
बागमतीमा सरकार टिकाउन हानेपा निर्णायक बनेपछि एमाले-माओवादी गठबन्धनले लामो प्रयासपछि बज्राचार्यलाई मन्त्री बनाएपनि यसले हानेपामा विवाद सिर्जना गरी विभाजनसम्म ल्याउने परिस्थिति सिर्जना भएको हो।
११० सदस्यीय बागमती प्रदेश सभामा बहुमत जुटाउनका लागि ५६ सांसदको समर्थन चाहिन्छ। एमालेका २७, माओवादीका २१ र नेकपा एसका ७ गरी ५५ जनाको मात्र समर्थन जुटेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल अल्पमतमा परेका थिए। हानेपा सांसद वज्राचार्यलाई मन्त्री बनाएपछि जम्मकट्टेल सरकारका पक्षमा बहुमत जुटेको छ। तर हानेपाले बज्राचार्यलाई कारबाही गरे पुनः जम्मकट्टेल सरकार अल्पमतमा पर्नेछ।
प्रदेशसभामा नेपाली कांग्रेसको ३७, राप्रपाको १३ र नेमकिपाको ३ सिट छ।


