काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ।
चैत १५ गते बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तहमा सबै संकायका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार स्नातक तह पहिलो वर्षको आउँदो परीक्षाबाटै प्रश्नपत्रमा अंग्रेजीका साथै नेपाली भाषामा पनि उल्लेख हुने निर्णय कार्यान्वयन गरिनेछ। त्यसपछि दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षाको प्रश्नपत्रमा लागु गरिनेछ।
‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ,’ त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।
यसअघि सम्बन्धित भाषा विषयका परीक्षा सोही भाषामा र बाँकी प्रश्नपत्र अंग्रेजी भाषामा बनाइने गरेको थियो।
पढाइ नेपाली भाषामा हुने तर प्रश्नपत्र अंग्रेजीमा हुँदा विद्यार्थीलाई मार परेको उल्लेख गर्दै सरकारवालाले दुवै भाषामा परीक्षाका प्रश्नपत्र बनाउन माग गर्दै आएका थिए।
भाषाकै कारण विद्यार्थीहरू विद्यार्थीहरूको नतिजामा असर गरेको भन्ने गरिएको थियो।



