काठमाडौँ- आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नेतृत्वमा बजेट निर्माणका लागि विज्ञ समूह बनाएका छन्।
बिहीबार मन्त्रीस्तरीय निर्णयबाट डा महतले आगामी वर्षको बजेट निर्माणको लागि विज्ञ समूह गठन गरेका हुन्। समूहमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई समावेश गरिएको छ।
भट्ट राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक समेत हुन्। डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा उनले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भएर काम गरेका थिए।
यसअघि अर्थमन्त्री महतले सहसचिव भुपाल बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति बनाएका छन्।
आर्थिक सुधारका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नभएको, सरकार र राष्ट्र बैंकबीच सेतुको काम गर्ने क्षमतावान व्यक्तिहरु आवश्यक भएको भन्दै भट्टलाई अर्थ मन्त्रालयमा तानिएको हो।
व्यवस्थापन, अर्थशास्त्र र मौद्रिक नीतिलगायतमा विज्ञ डा. भट्ट मन्त्रालयमा सल्लाहकारको रुपमा मौद्रिक नीति र बजेटबीच उचित तालमेल बनाउन सकिने विश्वास अर्थमन्त्रालयको रहेको छ।


