काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड ९ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिरेको हो।
दुई न्यारोबडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरै रकम निगमले भुक्तानी गरेको पौडेलले जानकारी दिए। तर दुई वाइडबडी जहाज किन्दा लिएको चैतसम्मको पूरै किस्ता तिर्न नसकेर आंशिक मात्र तिरेको उनले बताए।
निगमले २०८० चैतसम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ किस्ता रकम भुक्तानी गरेको छ।
कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गर्न पनि निगमले आग्रह गरेको छ।
यस्तै किस्ताको सङ्ख्या बढाइदिएर ऋण चुक्ता गर्ने निर्धारित मिति पछि सारिदिन पनि दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


