काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन थुनामा गएका छन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी नुबझाएका कारण उनी थुनामा गएका हुन्।
रुपन्देही जिल्ला अदालतले शुक्रबार दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। पुन र नवीन अछामीले धराैटी बुझाएका छैनन्।
नवीन अछामीसँग १० लाख धराैटी माग गरिएकाे थियाे। उनी पनि थुनामा गएका छन्। यस्तै, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो। पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन्।
त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन्। न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकोमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए। उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो।
सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए। बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।


