पोखरा- पोखराका विभिन्न सहकारीमा रकम जम्मा गरेका तर फिर्ता नपाएकाहरू संगठित भएका छन्। जिल्लाका विभिन्न सहकारीमा रकम जम्मा गरेकाहरू बचत फिर्ता नपाएको भन्दै गोलबद्ध भएर एकत्रित आवाज उठाउने यत्न गरेका हुन्।
सूर्यदर्शन, मित्रमिलन, शिवशिखर, बलिदानी, बिन्दवासिनी र इमेज बचत तथा ऋण सहकारी गरी ६ ओटा सहकारीका पीडितले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
पहिलो चरणको कार्यक्रम अन्तर्गत २०८१ वैशाख १० गते जिल्ला प्रहरी कार्यालय कास्की अगाडिबाट दबाबमूलक र्याली आयोजना गर्न लागिएको सहकारी बचत पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार बिहान १० बजेबाट र्याली सुरु हुनेछ।
‘कास्की जिल्लाको सन्दर्भमा विगत २ वर्षदेखि एकाध सहकारीमा समस्या देखा पर्न थालेकोमा आजको मितिसम्म आइपुग्दा आइपुग्दा समस्या सतहमा आई छानबिन र न्यायको लागि संघर्षका कार्यक्रम घोषणा गरिएको श्रेष्ठले बताए।
कास्कीमा ६ वटा सहकारीले ठगी गरेको भन्दै उजुरी परेको र अनुसन्धानको प्रक्रियामा रहेका छन्।
केही सञ्चालक अनुसन्धानको दायरामा आएपछि मुख्य अभियुक्त मानिएका जीबी राई, देवकुमार नेपालीलगायत अझै पनि पक्राउ पर्न सकेका छैनन्।
राई हालका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेका तत्कालीन व्यावसायिक साझेदार हुन् भने नेपाली एमालेका नेता हुन्। उनी ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन्।
पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन भएको अनुमान गरिएको छ।



