मनहरी (मकवानपुर)- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको
जानकारी दिएका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आज हेटौँडामा भएको छलफलमा उहाँले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिए।
बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी उनले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताए।
उनले भने ,‘सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो । प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ।‘ छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


