काठमाडौँ- कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाली सेनाले सुरक्षाको नेतृत्व गर्ने छ। यो अति विशिष्ट सुरक्षा हो।
विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो।
यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ।
बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ। सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ।
आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन्। सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन्।
प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ। सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ।
यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बासस्थान र सवारी रुटको सुरक्षाको लिड नेपाली सेनाले गर्नेछ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले पहिलो सुरक्षा घेरामा नेपाली सेना र बाहिरी घेरामा नेपाल प्रहरीसहितको अन्य सुरक्षा टोली रहने जानकारी दिए।


