काठमाडौं – ए डिभिजन विभिन्न नियमा उल्लंघन गरेको भन्दै एन्फाले चार क्लब र एक अफिसियललाई गरि ४५ हजार जरिवाना गरेको छ। एन्फाले संकटा, एपिएफ, खुमलटार र मछिन्द्र क्ललाई र एपिएफका अफिसियल जिवेश पाण्डेलाई जरिवाना गरेको हो।
तीन क्लबका साथै पाण्डेलाई समान १०–१० हजार जरिवाना गरिएको छ भने एपिएफलाई पाँच हजार जरिवाना गरिएको छ। संकटा क्लबले एपिएफविरुद्धको खेलमा एपिएफको जर्सीसँग मिल्ने गोलकिपरको जर्सी लिएर आएको थियो। रंग मिलेपछि अर्को जर्सी ल्याउनका लागि लिग समितिले अघि नै निर्देशित गरे पनि संकटाले तेस्रो जर्सी नल्याएपछि खेल २६ मिनेट ढिलो भएको थियो।
यता सोही खेलको दोस्रो हाफमा एपिएफले खेल दुई मिनेट ढिलो गराएको कारण उसलाई भने पाँच हजार जरिवाना गरिएको छ। त्यस्तै, एपिएफका अफिसियल पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानमाथि हातपात गरेपछि उनलाई १० हजार जरिवाना लगाएइको छ।
च्यासल रंगशालामा मछिन्द्रसँग ७–३ गोलअन्तरले हारेपछि खुमलटार कलबले प्लेयर बक्समा तोडफोड गरेको थियो। सो तोडफोडलाई कारण देखाउँदै एन्फाको अनुशासन समितिले खुमलटारलाई पनि १० हजारको जरिवाना तोकेको छ।
यता, रेफ्रीमाथि हातपातको प्रयास गरेको कारण मछिन्द्रलाई पनि १० हजार गरिवाना गरिएको छ। उक्त दिन मछिन्द्रले एनआरटीसँग १–१ को बराबरी खेलेको थियो।


