गण्डकी- निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकास्ट’ प्रविधिबाट पुल निर्माण गरिने भएको छ।
सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा प्रिकाष्ट प्रविधिका पुल राख्न लागिएको हो।
निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए।
निर्माणको काम छिटो सक्नका लागि यस्तो प्रविधि अपनाइन्छ। अन्यत्रै बनाइएका सामग्री आवश्यक ठाउँमा ल्याएर फिट गर्ने प्रविधिलाई प्रिकास्ट भनिन्छ।
निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए।
निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको अनुगमन गरेका छन्।
सञ्चारकर्मीसहित महानगरप्रमुख आचार्यले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिएका हुन्।
आवागमन सहज बनाउन चाँडो सडक निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनी एवं सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उनले बताए।


