धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिन गरेको दोस्रो प्रयास पनि विफल भएको छ।
विश्वासको मत लिने सोडारीको प्रयास शुक्रबारका साथै शनिबार पनि विफल भएको हो।
शुक्रबार सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले उपस्थित भएको थिए। यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठकका साथै प्रदेश सभाको बैठक स्थगित भएको थियो।
शुक्रबारको प्रयास विफल बनेपछि सोडारीले शनिबार विश्वासको मत लिने प्रयास गरेका थिए। तर शनिबार बिहानै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल भेटघाटका लागि भन्दै काठमाडौँ प्रस्थान गरेका छन्। यसपछि शनिबारका लागि लागि सारिएको विश्वास मत लिने प्रयास पनि विफल बनेको छ।
विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबारका लागि बाेलाइएकाे बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेकाे हाे।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्न नहुने पार्टीको धारणा रहेको बताएका छन्।
‘हामीले उहाँ(मुख्यमन्त्री) लाई समय पर्याप्त भएकाले हतार नगर्नुहोस् भनेका थियौँ। तर उहाँले सल्लाह नगरी अघि बढ्नु भयो,’ रावलले भने।
बझाङ ‘क’मा गत शनिबार भएको उपनिर्वाचनबाट विजयी भएका दमनबहादुर भण्डारीलाई पितृशोकमा परेका बेला विश्वासको मत लिन हतार गर्न नहुने पक्षमा एमाले छ।
अघिल्लो मङ्गलबार बिहान भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा निधन भएको थियो।
नेकपा एस संसदीय दलका नेता सोडारी एमालेकै समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई अन्तिम समयमा मात्र एमालेले समर्थन गरेको थियो। त्यसअघि एमालेले सोडारीको विकल्पमा अन्य कुनै सांसदलाई मुख्यमन्त्रीका रूपमा अघि सार्न एमालेले नेकपा एससँग भनेको थियो।
तर नेकपा एसले भने एमालेले धोका दिने रणनीतिले उक्त विषय अघि सारेको भन्दै कांग्रेसको समर्थन लिएर भएपनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने अडान लिएको थियो।


