काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले बजेटलाई जनमुखी बनाउन माग गरेको छ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्को आगामी जनसरोकारका विषय सशक्त रूपमा उठाउने र सरकारको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको हो। उक्त अधिवेशनमा कानुन निर्माण प्रक्रियामा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता एवं पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो। पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने निर्णय गरेको बैठकले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।


