काठमाडौँ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कार्की र दुई जना मन्त्रीलाई शपथ दिलाएका हुन्।
खापुङले नेकपा (एमाले) का उपनेता समेत रहेका रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’लाई पनि मन्त्रीको शपथ दिलाएका छन्। दुवै जनामन्त्रीको जिम्मेवारी तोक्न बाँकी छ।
एमालेका संसदीय दलका नेता कार्कीले माओवादीसमेत गरी ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
निवर्तमान मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखले गरेको सरकार गठनको आह्वान नै असंवैधानिक भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
उनले आफूलाई नै मुख्यमन्त्रीका रूपमा काम गर्न दिन परमादेश दिन माग गरेका छन्।


