काठमाडौँ- कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाईले नेपालमानै एसेम्बलिङ गर्ने भएको छ। नवलपरासीमा प्लान्ट स्थापना गरेको हुन्डाइले अब पार्टस् आयात गरी एसेम्बलिङ भने नेपालमा नै गरिने जानकारी दिएको हो।
प्लान्टको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाइने बताए।
‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यविना देशको अर्थतन्त्र सबल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।’

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युतकाे खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ।
सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे।


