काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार (आज) विश्वासको मत लिँदै छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ।
उनी संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्।
जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन्। कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ।
यसैबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ।
औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ।
यस्तै राप्रपाले पनि विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन। एकीकृत समाजवादीका सांसदहरू भने प्रदेशसभा बैठकमा अनुपस्थित रहने बताइएको छ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन्।


