काठमाडौं- नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गरेको पाइएको छ।
सिप्रदीले काठमाडौँ महानगरपालिकालाई नयाँ भन्दै पुराना टिपर बिक्री गरेको पाइएको हो।
सोमबार महानगरले पत्रकार सम्मेलन गरी सिप्रदीले आफूहरूलाई पुराना गाडी बिक्री गरेको सार्वजनिक गरेको हो।
महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए।
‘हामीले सिप्रदीबाट खरिद गरेको ६ वटा टिपर प्राविधिक परीक्षण गर्दा ४ वटा पुरानाे भएको पाइयो,’ पत्रकार सम्मेलनमा मानन्धरले भने, ‘यसबारे सिप्रदीलाई जानकारी गराइएको छ। उसले गल्ति स्वीकार गर्दै गाडी फिर्ता लैजाने भनेको छ।’
महानगरले सिप्रदीलाई कालोसूचीमा राख्नका लागि प्रक्रिया अघि बढाइनेसमेत जानकारी दिएको छ।


