काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताएका छन्।
सहकारी ठगीको आरोपमा लामिछानेमाथि छानबिन समिति बनाएर प्रतिनिधि सभामा बोल्न दिनुपर्ने राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बताएका हुन्।
लामिछानेमाथि छानबिन गर्न माग गर्दै कांग्रेसले सदनमा गरेको अवरोधका विषयमा कुराकानी गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतक र सचेतकहरूसँग छलफलमा शाहीले यस्तो बताएका हुन्।
‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ’ भन्ने विषय आफूले सभामुखसँगको छलफलमा राखेको शाहीले बताए। ‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ। बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन,’ उनले भने।
गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको पनि उनले बताए।
यसअघि शुक्रबारै कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको बैठकमा राप्रपाले छानबिन समितिको मागमा ऐक्यबद्धता जनाइसकेको छ।


