काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखाएको बताएका छन्।
शुक्रबार शीर्ष नेताबीचको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले बिहीबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन्।
‘कांग्रेसहरूले उत्ताउलो पन देखाए। मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, यो सभ्य व्यवहार भएन,’ उनले भने।
बिहीबारको संसद बैठकमा नेपाली कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो।
प्रतिपक्षी कांग्रेस सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको अवस्थामा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि ओलीले रविलाई रोस्टमतर्फ जान भनेका थिए। यसपछि रवि अघि बढेका पनि थिए।
त्यही बेला कांग्रेसका धनराज गुरुङलाई बोलाएर त्यहाँबाट हट्न भनेका थिए। ओलीले हट्न भनेपछि गुरूङले झन् जोडतोडका साथ नारा लगाए।
आफूले सरकारबाट कांग्रेसलाई हटाइदिएकाले कांग्रेसले आफूमाथि रिस पोखेको ओलीको आरोप छ।


