काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार बिहान ११ बजे अघि नै सहमतिमा पुग्न आग्रह गरेका छन्।
प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहमति गरेर निर्बाध र सौहार्दपूर्ण ढंगबाट संसद् सञ्चालन हुने वातावरण बनाउन उनले आग्रह गरेका हुन्।
‘प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्,’ ओली र प्रचण्डलाई सभामुख घिमिरेले आग्रह गरेको कुरालाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्। भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्।’
प्रधानमन्त्रीले विश्वासको मत लिन, नीति तथा कार्यक्रम पास गर्न र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच सम्भव नरहेको उनको भनाइ थियो।
अध्यादेशबाट बजेट ल्याउने विषयमा सञ्चारमाध्यममा चर्चा भइरहेको उल्लेख गर्दै उनले त्यसो गरे संसद र जनप्रतिनिधिको महत्व कमजोर हुने पनि स्मरण गराएका थिए। ‘अध्यादेशबाट बजेट ल्याउने, कानुन ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्त्व घटेर जान्छ’, उनले भनेका थिए।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ। सोही अनुसार कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।
कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिए। शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।


