काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने भनिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदातलमा रिट दायर भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री विरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन्।
निर्वाचन आयोगले आफूहरूको दल विभाजन गरिदिएको र त्यसविरुद्ध आफूले दायर गरेको रिटबारे सर्वोच्चको प्रष्ट आदेश आइनसकेको अवस्थामा विश्वासको मत लिनु अवैधानिक हुने भन्दै यादवले रिट दर्ता गराएका हुन्।
वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएर जसपा बनेको थियो। निर्वाचन आयोगले जसपालाई नयाँ दलको मान्यता दिइसकेको छ। आयोगको उक्त निर्णयविरुद्ध यादवले दिएको रिटमाथि जेठ ८ गते सुनुवाइ हुँदैछ।
वैशाख ३१ गते यादवले उपप्रधानमन्त्रीबाट राजीनामा दिँदै आफ्नो दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको निर्णय गराइसकेका छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
सोहीअनुसार प्रचण्डले ७ गते तल्लो सदनबाट विश्वासको मत लिने तयारी अघि बढाएका छन्।


