काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने विषयमा सरकार जिम्मेवार रूपमा प्रस्तुत नभएको आरोप लगाएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
सरकारले संसदीय समिति बनाउन तयार भएको बताएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए। सत्ता पक्ष विषय केन्द्रित भन्दा पनि विषयलाई अन्तै मोड्न उद्यत रहेको उनको आरोप छ।
‘सत्ता पक्षका साथीहरूको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाऊँ भने जस्तो देखियो। संघीय संसदमा देशभरमा जे विषय उठेको छ। त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन। हामीले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्नेकुरा पनि उल्लेख गरेर जाऔँ भनिरहेका छौँ,’ लेखकले भने।
प्रमुख सचेतक लेखकले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताए।
‘जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ,’ उनले भने, ‘त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले कांग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाऊँ भन्ने हो । उहाँहरूको कुरा जिम्मेवारीपूर्ण आएन ।’
प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस आफूहरूको मागबाट पछि नहट्ने बताए।


