काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता दिनमणि पोखरेलले दिएको ‘क्लिन चिट’ विरुद्ध रिट दर्ता हुने भएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो।
यसअघि अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको थियो।
सहकारी ठगीको आरोपमा संलग्न भएको आरोपमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध थालेका बेला पोखरेलले रविविरुद्ध कुनै पनि मुद्दा नभएको भन्दै पत्र दिएका थिए।
सोही पत्रलाई भजाउँदै रविले आफूविरुद्ध कुनै पनि मुद्दामा अनुसन्धान हुनै नसक्ने दाबी गर्दै आएका छन्।
प्रहरी महानरीक्षक बसन्तबहादुर कुँवरले पनि त्यस्तै व्यहोराको अभिव्यक्ति राज्य व्यवस्था तथा सुशासन समितिमा आफैँ उपस्थित भएर भनेका थिए।


