काठमाडौँ- सहकारी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे बस्ने तय भएको छ।
कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो। कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन। यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन्।
शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए।
बैठकमा कांग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत राखेको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। उनका अनुसार आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।
संसदीय समितिको कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका भएको थियो। कार्यदलमा गिरीसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन्।


