काठमाडौँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बिपी कोइरालाको नाम लिँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधलाई लज्जास्पद भनेका छन्।
सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्न रोस्टम उक्लेका वाग्लेले नीति तथा कार्यक्रमका विषयमा कुराकानी गर्नेभन्दा बढी समय कांग्रेसको विरोधका लागि खर्चेका थिए।
‘यो असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्न पर्लाजस्तो मलाई लागेको थिएन,’ सांसद वाग्लेले भने, ‘६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा। मेरा त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज, आज, आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद, यो लज्जास्पद, यो लज्जास्पद, यो लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ।’
पटकपटक कांग्रेसको विरोधमा समय र शब्द खर्चन थालेपछि सभामुखले दुई पटक सम्म विषयमा केन्द्रित हुन आग्रह गरेका थिए।
तर सभामुखको आग्रहलाई अस्वीकार गर्दै कांग्रेस सांसदको विरोधमाथि आक्रोश पोखेपछि नाराबाजी गरिरहेका सांसदले होहल्ला गरेका थिए।


