काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाललाई उत्तर कोरिया नसम्झन एमालेलाई सचेत गराएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग भएको समेत उनले बताएका छन्।
‘सही प्रतिवाद गर्ने छुट कांग्रेससँग छ। किनभने यो उत्तर कोरिया होइन, नेपाल हो,’ पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने।
सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपछि ओलीलाई कांग्रेसमाथि हुँदै नभएको आरोप लगाएपछि कांग्रेसले तथ्यसहित प्रतिवाद गरेको उनको भनाइ छ।
‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ। कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन। पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो,’ महामन्त्री शर्माले भने, ‘उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेको बोलेको हुँ। उहाँले आरोप लगाएपछि हामीले तथ्य राखेका हौँ। कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’
यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र एमालेका अध्यक्ष ओलीमाथि लगाएको यो आरोपप्रति लिखित रूपमा माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए।
