काठमाडौं– सहकारी ठगीको आरोप लागेका रवि लामिछानेको नाम नलेखी छानबिन गर्ने सहमतिलाई काङ्ग्रेसले अनुमोदन गरेको छ।
नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा बसेको संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।
सम्सदीय छानबिन समितिको टीओआर बनाउने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ। अहिले कार्यादेशबारे छलफल गर्न दलहरू जुटेका छन्।
‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ जहाँ गएको छ, कानुनी/गैरकानुनी रूपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक भएन,’ लेखकले भने।
उनका अनुसार आज ३ बजे बस्ने संसद् बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने बताए।
कांग्रेस नेताहरुका अनुसार बैठकले कार्यादेशसहित संसदीय समिति बनाउन ७ सदस्य टोली तय भएपछि मात्र अर्थमन्त्रीले बजेट भाषण गर्ने सहमति छ।


