काठमाडौँ- पोखरा विमानस्थल बनाउन ५ प्रतिशत ब्याजदरमा चीनसँग ऋण लिएको लेखेपछि नेपालका लागि चीनका राजदूतले नेपाली पत्रकारलाई धम्की दिएका छन्। चिनियाँ राजदूत छन सोङले टक्सार म्याग्जिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई धम्की दिएका हुन्।
बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि ५ प्रतिशत ब्याजदरमा चीनसँग ऋण लिएको विषय सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरेका थिए। उक्त पोस्टमा आएर राजदूत सोङ्ले धम्कीको भाषा प्रयोग गरेका हुन्।
‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ,’ दुई दिनअघि बुढाथोकीको पोस्ट थियो।
बुढाथोकीको पोस्टमा मङ्गलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको टिप्पणी गरेका थिए।
‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो,’ सङ बुढाथोकीको पोस्टमा रिप्लाई गरे। राजदूत सोङले बुढाथोकीबाट औपचारिक रूपमा माफी माग्न समेत चेतावनी दिए।

पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ। उक्त ऋण मध्ये २ करोड १० लाख रुपैयाँ सावाँ फिर्ता भई १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ बाँकी छ।
बुढाथोकीको पोस्ट महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१औँ प्रतिवेदनमा आधारित भएर पोखरा विमानस्थल बनाउनका लागि लिइएको ऋण २ प्रतिशत नभएर ५ प्रतिशत रहेको उल्लेख गरेका थिए। यसअघि चीन र नेपाल सरकार दुवै पक्षले चीनबाट २ प्रतिशत ब्याजदरमा चीनबाट ऋण लिइएको दाबी गर्दै आएका थिए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारले एक्सपोर्ट इम्पोर्ट बैंक चीनबाट आरएमबी (चिनियाँ युवान) १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ,’ प्रतिवेदनले लेखेको छ, ‘उक्त ऋणमध्ये रू २ करोड १० लाख सावाँ फिर्ता भई रू.१९ अर्ब ३० करोड ४३ लाख बाँकी रहेको छ। उक्त बाँकी ऋण नेपाल सरकारको सार्वजनिक ऋणमा अभिलेखाङ्कन गरेको देखिएन।’
यसरी सार्वजनिक ऋणको कुल दायित्व तथा सावाव्याज भुक्तानीको विवरण विगत वर्षहरूमा नदेखाएकोमा यस वर्ष नेपाल सरकारको ऋण दायित्वको वार्षिक प्रतिवेदनको अनुसूचीमा विवरण समावेश गरे तापनि कुल तिर्न बाँकी ऋणमा भने समावेश नगरेको प्रतिवेदनमा उल्लेख छ।


