काठमाडौँ- मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएको छ।
मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीले सरकार बनाउने भएका छन्।
बिहीबार बसेको तीन दलको बैठकले जनमतलाई सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।
सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ।
१०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।
नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।
२१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन्।


