देउखुरी– लुम्बिनी प्रदेश सरकारले आव २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।
सरकारले लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेको छ।
स्थानीय तहसँगको साझेदारीमा सञ्चालित ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’लाई पनि निरन्तरता दिइने उल्लेख छ।
लुम्बिनीलाई केन्द्र बिन्दु बनाएर देवदह, तर्गौली ताल, ककरपत्तानगर, बुद्ध मंगलताल, रामग्राम स्तुपा, सगरहवा, निग्लहवा, कुदान र तिलौराकोट लगायतका स्थल समवेश गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन कार्यक्रम तयार गरी संघीय सरकारको समन्वयमा अघि बढाउने उल्लेख छ।
सरकारले लुम्बिनी प्रदेशको मौलिक अवस्था, संस्कृति र जलवायु अनुकुल स्थानीय आर्थिक प्रणालीको अध्ययन अनुसन्धान एवं विकासका लागि लुम्बिनी बौद्ध शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।
‘लुम्बिनी ढोरफाटन दुनै जुम्ला खलंगा रारा काँत्रेविहार कोहलपुर लुम्बिनी’ जोड्ने गरी बृद्ध पर्यटकीय पदमार्ग र ‘देवघाट रुरुधाम मुक्तिनाथ दामोदर कुण्ड’ समेटिएको धार्मिक मार्गको सम्भावना अध्ययनका लागि अन्तरप्रदेश समन्वय गर्ने नीति पनि सरकारले अघि सारेको छ।
प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको ‘रामपुर कपुरकोट’ सडकको स्तरोन्नती कार्यलाई छुट्टै आयोजनाको रुपमा अघि बढाउने नीति पनि सरकारले अघि सारेको छ।
प्रदेशको आर्थिक क्षेत्र चलायमान हुनेगरी कृषि पकेट क्षेत्रमा कृषि सडक, पर्यटकीय स्थलमा पर्यटन स्थल पहुँच मार्ग, महत्वपूर्ण उद्योग जोड्ने उद्योग स्थल पहुँच मार्ग निर्माणमा पनि सरकारले जोड दिएको छ।


