काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। हालसम्मकै उच्च बिन्दुमा पुगेर सुनले रेकर्ड बनाएको हो।
मंगलबार पनि सुनको मूल्यले रेकर्ड बनाएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार १ लाख ४४ हजार रूपैयाँ प्रतितोलामा सुनको कारोबार हुन थालेको छ। पछिल्लो रेकर्डभन्दा बिहीबारको सुनको मूल्य १ हजार ३ सय बढेर बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ थियो। तेजाबी सुन भने प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा बिहीबार सुनको एक तोलामा १ हजार ८ सय रूपैयाँ बढेको हो।
चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
जेठ १५ गते सरकारले आगामी आवको बजेट प्रस्तुत गर्दै १५ प्रतिशत रहेको सुनको भन्सार दर २० प्रतिशतमा पुर्याएपछि नेपाली बजारमा सुनको मूल्य झन् बढी थपिएको छ। यद्यपि विश्व बजारमा नै पछिल्लो समय सुनको मूल्य उकालो लागेको लाग्यै छ।


