नयाँदिल्ली- भारतमा तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
जुन ९ मा साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय भएको भारतीय राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। यसअघि जुन ८ मा नै प्रधानमन्त्रीको शपथ लिने समाचार आएका थिए।
भाजपाले लोकसभा चुनावमा जितेका सबै मन्त्रीहरूलाई यसपटक पनि दोहोर्याउने योजना बनाएको छ। विवादमा परेका अनुहारको नाम मन्त्री पदको सूचीबाट हटाउन सकिने भाजपाको भनाइ छ।
पार्टीले चुनाव हारेका स्मृति इरानी र राजीव चन्द्रशेखरलाई अर्को मौका दिन सक्ने बतयएको छ। उनीहरू पनि फेरि दोहोरिन सक्नैछन्।
यसअघि भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा बसेको भाजपा नेताहरूको बैठकले नयाँ सरकार गठन, भाजपा र सहयोगी दललाई मन्त्रिपरिषदमा दिन सकिने स्थान, शपथग्रहणको तयारीलगायत धेरै विषयमा छलफल भएको बताइएको छ। बैठकमा नेताहरू अमित शाह र राजनाथ सिंह पनि थिए।
लोसकभामा भाजपासँग २४० सिट छन्। सरकार बनाउनका लागि आवश्यक नपुगेपछि मोदी दबाबमा छन्। मोदीले बनाएको चुनावी मोर्चा एनडीएका १४ सहयोगी दलका ५३ सांसदले पनि मोदीलाई समर्थन गर्ने बताइएको छ।
भाजपाले बहुमत(२७२)भन्दा ३२ सिट कम ल्याउँदा एनडीएले २९३ सिट पाएको छ।

एनडीएको चन्द्रबाबु नायडूको टीडीपीले १६ सिट ल्याएको छ भने विहारका मुख्यमन्त्री नीतीशको जनता दल युनाइटेडले १२ सिटमा जित निकालेको छ। मोदीलाई प्रधानमन्त्री बन्न यी दुई दलको भूमिका मुख्य हुने भएकाले उनीहरूले दबाब बढाएका छन्। नायडूले लोकसभाको सभामुखसहित ६ मन्त्रालय माग गर्दा नीतीशले ३ मन्त्रालयमा दाबी गरेका छन्।
मोदीको शपथ ग्रहण कार्यक्रममा नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जाने तयारी गरेका छन्। नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनका लागि नयाँदिल्ली जाने तय भएको बताएका छन्।


