काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक (एमडी) सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाइदिन दबाब दिएको आरोप लगाएका छन्। शुक्रबार एक भिडियो वक्तव्य जारी गर्दै एमडी सिरोहियाले यस्तो दाबी गरेका हुन्।
कान्तिपुर दैनिकमा सहकारी ठगी प्रकरणमा आफ्नो पनि नाम आएपछि रोक्नका लागि दबाब दिएको तर कान्तिपुरले समाचार रोक्न नमानेपछि आफ्ना पितासमेत रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ।
कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट जेठ ८ गते पक्राउ गरेको थियो। ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए। त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन्।
‘रास्वपाका रवि लामिछाने जो अहिले गृहमन्त्री छन्, उहाँको सहकारी काण्डका समाचार जनतामाझ ल्याउने क्रममा उहाँले धेरै रिक्वेस्ट गर्नुभयो। यो समाचार लुकाई दिनका लागि, मिलाइदिनका लागि। उहाँले पहिले आफूले गरेको पत्रकारिता सोच्नुभयो जस्तो लाग्यो मलाई,’ उनले भने, ‘सेटिङ गरेर समाचार बन्छ र लुक्छ भन्ने सोच्नुभयो। उहाँलाई कति बुझाउने प्रयास गरियो, म्यानेजमेन्टले न्यूज लेख्दैन भनेर। कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता छ। उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लिनुभयो र आफ्नो पद दुरुपयोग गरेर मेरो बुवालाई एरेस्ट गर्नुभयो।’
सम्भवले बुवाको नागरिकताका विषयमा लागिरहेको कीर्तेको आरोपबारे पनि प्रष्टीकरण दिएका छन्। कसैको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिल्न गएमा सरकारी निकाय जिम्मेवार हुने, व्यक्ति जिम्मेवार नहुने उनको तर्क छ।
‘उनले गृहमन्त्री लामिछानेले बुवाको नागरिकतामा दुईथरि नाम देखिएको भन्दै सम्भवले काउन्टर अट्याकसमेत गरेका छन्। तर, यस प्रमाण भएर पनि आफूहरूले प्रकाशित नगरेको उनको दाबी छ।
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024


