नयाँदिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा शपथग्रहण गर्ने कार्यक्रममा सहभागी हुन आइतबार अपराह्न प्रचण्ड दिल्ली पुगेका हुन्।
प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय परराष्ट्र मन्त्रालय सहसचिव पी कुमारनले स्वागत गरेका थिए।
तेस्रो कार्यकालका मोदीले आइतबार प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल पनि दिल्ली पुगेका छन्।
टोली सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
Warm welcome to our esteemed guest!
PM @cmprachanda of Nepal arrives in New Delhi to attend the swearing-in ceremony of Prime Minister and Council of Ministers.
Received by OSD (ER & DPA) P. Kumaran at the airport.
The visit reflects the unique 🇮🇳-🇳🇵ties and will also… pic.twitter.com/ieeavuxDA4
— Randhir Jaiswal (@MEAIndia) June 9, 2024
मोदीको शपथग्रहण कार्यक्रमका लागि भूटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे र श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे पनि नयाँदिल्ली पुगिसकेका छन्।
यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू पनि भारतमा पुगिसकेका छन्।
मोदी आइतवार साँझ ७:१५ मा राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष पद तथा गोपनीयताको शपथ लिँदैछन्।
भारतमा भएको १८औँ लोकसभा चुनावमा मोदी नेतृत्वको एनडीए गठबन्धनले २९३ सिटमा जित हासिल गरेको थियो। भाजपा एक्लैले २४० सिट ल्याएको छ।
सरकार बनाउनका लागि चन्द्रबाबु नायडू नेतृत्वको तलेगु देशम पार्टी (टीडीपी) र नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेडले समर्थन गरेको छ। यी दुई दलसँग २८ सिट छ।


