पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। सोमबार गण्डकी प्रदेशसभा पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।
६० सदस्यीय प्रदेशसभाका सदस्यमध्ये नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा ३१ मत परेसँगै विश्वासको मत पाएका हुन्।
सभामुख कृष्णप्रसाद धितालले पाण्डेका पक्षमा परेको ३१ मत सदनमा तत्काल कायम भएका सदस्य संख्याको बहुमत भएको भन्दै पाण्डेले विश्वासको मत पाएको घोषणा गरेका थिए।
वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्तावको विपक्षमा २८ मत परेको थियो। जम्मा ५९ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए।
पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे।
देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद हुन्। २०७९ को निर्वाचनमा गोरखाबाट उठेका उनले माओवादीको चुनाव चिन्ह हँसियाहथौडाबाट जितेका थिए। यद्यपि प्रदेशसभाको रेकर्डमा नेसपाका एक जना सांसद भएको उल्लेख छ।
योसँगै एमाले-माओवादीसहितको संघीय सरकार चलाइरहेको गठबन्धनलाई धक्का लागेको छ।
यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० मत मात्र परेको थियो। तर ६० सदस्यको बहुमत ३० नै हुने व्याख्या सभामुख धिताल आफैँले गर्दै विश्वासको मत पाएको घोषणा गरेका थिए। तर सर्वोच्च अदालतले सभामुखको घोषणा अवैधानिक ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न जेठ १५ गते परमादेश दिएको थियो।


