धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा सोमबार ८ मन्त्री नियुक्त भएका छन्।
सोडारीले एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना स्वतन्त्र सांसद गरी ८ जना मन्त्री थपेका हुन्।
एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकासमन्त्री बने।
स्वतन्त्र सांसद ताराप्रसाद जोशी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भए।
एमालेका बीरबहादुर थापा र हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक विना विभागीय मन्त्री बनेका छन्।
एकीकृत समाजवादीका माया पन्त पनि विनाविभागीय मन्त्री बनेकी छन्।
सोमबार नै नवनियुक्त मन्त्रीहरुको शपथको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री थिए।
भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन्।
यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो सुरु भएको छ।
पाँच जना सांसदहरुले संसदीय दलमा सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्रीको शपथ कार्यक्रम नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छ्न्।
सांसदहरु खगराज भट्ट, झपट साउद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा विरोध गरेका हनु्।
प्रदेशमा माओवादीका सभामुखसहित ११ सांसद छन्।


