काठमाडौँ- गण्डकी प्रदेशमा फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने भएका छन्।
दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री सेरेन्द्रराज पाण्डेले विश्वासको मत पाएपछि आज सरकार विस्तार गर्दै छन्।
माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए। आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताएका छन्।
देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन्। सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन्।
देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ। फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन्।
६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङेलाई सुरेन्द्रराजले नै दोस्रो पटक भौतिक मन्त्री बनाउँदै छन्। माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए।
विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका हुन्।


