काठमाडाैँ- अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औँ अधिवेशनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा हुँदै जेनेभा प्रस्थान गरेका हुन्।
स्विट्जरल्यान्ड भ्रमणका क्रममा उनले जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। ३१ गते ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन्। जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन्।
राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


