काठमाडौँ- ११औँ जिल्ला अधिवेशनमा निर्विरोध निर्वाचित भएका बालसिंह काउछा १२ औँ अधिवेशनमा जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।
गत मंगलबारदेखि सुरु भएको १२ आधिवेशनमा सहमति जुट्न नसकेपछि विहीबार मतदान भएको थियो। काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धीको पोल्टामा २०२ मत परेको छ।
अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए।
निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाए।
११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटकको १२ औं जिल्ला अधिवेशनमा भने उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।
सचिवमा धर्म विश्वकर्मा विजयी भए। विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाए।
सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत पर्यो।


