काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्। शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए। एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छौं भनेर नहुने उनको भनाइ थियो ।
‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भयो र? हामी सरकारमा छँदै छौं भनेर हुन्छ?,’ उनले भने, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने।’
उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए। उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले प्रतिक्रियावादीहरुले एमालेविरुद्ध दिनदिनै नयाँ-नयाँ अकल्पनीय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताएका थिए।
‘हामी प्रतिक्रियावादी शक्तिहरु जस्तो, विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरु बोकेर ती स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरु अवलम्बन गर्ने खालका भ्रमका तुवाँलाहरु फैल्याउने क्रमका विपरीत क्रियाकलापहरुमा हामी लाग्दैनौँ,’ ओलीको जिकिर थियो, ‘फेरि हामीले खण्डनमण्डन त गर्नुपर्ने हुन्छ। हाम्रो पार्टीका विरुद्ध उनीहरुको हमला अत्यन्त तीव्र छ। नयाँ कुरा दिनैपिच्छे अकल्पनीय कुराहरु उनीहरुले आविष्कार गरेर बजारमा फैलाउँछन्।’


