काठमाडौँ– काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि नगरसभाका सदस्यमाथि आक्रोश पोखेका छन्।
आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन्।
मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। तर एमाले र कांग्रेसका वडाध्यक्षहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ।
न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्टुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए।
मेयर साहले ३ जना नेताका कारण १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताए।
‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ। नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ उनले भने, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन।’
काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन्।


