काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने निश्चित नै भएको छ। एमालेका कार्यक्रमको प्रमुख अथिति बन्दै आएकी उनले पार्टी सदस्यतासमेत नवीकरण गरेकी छिन्।
सक्रिय राजनीतिमा आउने उद्येश्यसहित उनले पार्टी सदस्यता नवीकरण गरेकी हुन्। २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहकी थिइन्।
गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेको एमाले स्रोतले जानकारी दिएको छ।
एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन्।
भण्डारीले पार्टी सदस्यता नवीकरण गरे पनि संगठन विभाग प्रमुख अधिकारी खुल्न चाहेका छैनन्। गत जेठ १६ गते राष्ट्रिय महिला भेलाको उद्घाटन गरेकी उनलाई सक्रिय राजनीतिमा फर्काउन एमालेकै नेताहरु लागि परेको पाइन्छ ।
अर्का पूर्वराष्ट्रपति रामवरण यादव कांग्रेस पार्टीका औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरे पनि पार्टी सदस्यता भने लिएका छैनन्। पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा छ।


