काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खल्तीमा राजीनामा पत्र बोक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान नै बनेको टिप्पणी गरेका छन्।
वर्तमान सत्ता समीकरणमा कुनै उथलपुथल नहुने दाबी गरेका उनले राजीनामापत्र खल्तीमा राखेर हिँडेका छौँ भन्नु देखाउने कुरा मात्र भएको भन्दै कटाक्ष पनि गरेका छन्।
सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन राम्रैसँग अघि बढ्ने बताएका हुन्।
‘रवीजीले सुरुमै भन्नुहुन्थ्यो, हामी त्यस्ता हौँ भनेर। त्यो चाहिँ उहाँहरूले आफ्नो पहिचानका लागि पनि भन्नुपर्ने आवश्यकता होला,’ रास्वपाका नेताहरू त ‘खल्तीमै राजीनामा बोकेर हिँडेका छौँ’ भन्नुहुन्छ नि! भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’
तपाईंले उथलपुथल गर्ने बेला त भएको छैन नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले थपे, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्युमरहरूमा कुनै सत्यता छैन।’
साथै, उनले सरकारका मन्त्रीहरूको १ सय दिनको उपलब्धि राम्रै पाएको जिकिर गरे।


