काठमाडौँ- धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ। बुधबार बसेको सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ उम्मेदवारले कार्यप्रस्तुति तथा अन्तर्वार्ता नै नदिएपछि सिफारिस समिति अन्योलमा परेको हो।
‘महान्यायाधिवक्ताबाट जेजस्तो सुझाव आउँछ सोअनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ समिति स्रोतले भन्यो।
अध्यक्षमा सिफारिस गर्दा कम्तीमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ।
ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ।’
प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने वा दुई जनाको नाम सिफारिस गर्ने वा अंकका आधारमा ३ जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझावअनुसार समितिले निर्णय गर्नेछ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ।
सर्टलिस्टमा परेका अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ता दिएका थिए।
बाँकी ३ जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भए।
ती ३ जनालाई बुधबारका लागि पुनः बोलाइए पनि तीनै जना अनुपस्थित भए।


