काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्चले रिट खारेज गरेको हो।
न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको इजलासमा मंगलबार भएको बहसपछि यस्तो आदेश आएको हो।
सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो। असार १० गते मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो।
कार्कीलाई हटाएर प्रदेश प्रमुख परशुराम खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि कार्की अदालत पुगेका थिए।
केदारको रिट खारेज भएसँगै हिक्मत कार्की सरकारले निरन्तरता पाउने भएको छ।


