काठमाडौँ- सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी)सँग बयान लिएको छ।
गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवरसँग समितिले सोधपुछ गरेको हो। सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको समिति सदस्य बद्री पाण्डेले जानकारी दिए।
सांसद सूर्यबहादुर थापा सभापति रहेको संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा उपस्थित हुन भनेको छ।
देशभरको सङ्कटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सूचनाहरूको जानकारी लिन छलफलमा बोलाइएको समितिका संयोजक सूर्य थापाले बताएका थिए। बिहीबारको बैठकले यस्तो निर्णय गरेको थियो।
समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो।
सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लागेको भन्दै नेपाली कांग्रेसले सदन अवरोध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो।
गृहमन्त्रीसमेत रहेका लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका विषयमा समितिले छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय पाएको छ।


