सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ।
शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट सर्वसम्मत पारित भएको हो। बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए।
यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै संसदसमेत अवरुद्ध गर्दै आएको थियो।
कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको छ। उक्त सम्झौता पश्चात मात्रै मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ। जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत छ।
वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ।


